NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ ञलाथ्व चतुर्दशी - १४

कार्यशाला गोष्ठी -- सरकारी तथा निजी छापाखाना बीचको अन्तक्रिया कार्यक्रम (पोखरा)

नेपाल सरकारको सुरक्षण मुद्रणालयको रुपमा स्थापित गर्ने उद्देश्य अनुसार मुद्रण विभागको आ.व २०७३।७४ को बार्षिक कार्यक्रम अनुसार विभागले नवीनतम प्रविधि अनुसार मुद्रण व्यवसायको स्तरोन्नती गर्न मुद्रण विभाग र निजी छापाखानाहरु बीच के कस्तो कार्यगत साझेदारी अवलम्बन गर्न सकिन्छ भन्ने विषयक सरकारी तथा निजी छापाखाना विचको अन्तक्रिया कार्यक्रम मुद्रण विभागका महानिर्देशक श्री शंकर अर्यालज्युको सभापतित्वमा मिति २०७३।१२।३ गते पोखरामा सम्पन्न गर्यो । उक्त कार्यक्रम पश्चिमाञ्चल क्षेत्रीय प्रशासक श्रीमती यमकुमारी खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा मुद्रण उद्योग महासंघका अध्यक्ष माधव के.सी. लगायत उक्त क्षेत्रका विभिन्न मुद्रण व्यवसायीहरुको साथै स्थानीय विकास अधिकारी बलराम ढकाल लगायत विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अन्र्तक्रियाको क्रममा कसरी निजी क्षेत्रलाई समेटेर विभागको भावि योजनाहरुलाई कार्यान्वयन गर्दै अगाडि बढाउन सकिन्छ, भन्ने विषय जोडदार रुपमा उठेको र सोही विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय प्रशासक श्रीमती यम कुमारी खतिवडाज्यूले निजी क्षेत्रका समस्या पहिचान गर्ने मुद्रण विभागको पहल सकारात्मक भएको भन्दै मुद्रण सम्बन्धी तालिम केन्द्र तथा दक्ष जनशक्तिमा विभागले पहल गर्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । मुद्रण व्यवसायीहरुबाट समग्रमा छापाखानाको विकास नभई देश विकास सम्भव नहुने र  प्रेस जगतलाई सरकारको अभिन्न अंगको रुपमा स्थापित गरि मुद्रण क्षेत्रलाई सरकारी प्राथमिकतामा राख्नु पर्ने सुझाव आएका थिए । मुद्रण कार्यको लागि विदेश जाने मुद्रा रोकी छपाई भईसकेका सामाग्री देश भित्राउन दिन नहुने र सुरक्षण मुद्रण सम्बन्धी सम्पूर्ण कार्य सरकारले नै गरि अन्य सबै छपाई सम्बन्धी कार्य निजी क्षेत्रलाई दिनु पर्ने विचार व्यक्त भएको थियो । यस प्रकारका अन्तरक्रिया कार्यक्रमले मुद्रण सेवा र कार्यमा थप गुणात्मकता प्रदान गर्नुको साथै मुद्रण सेवा र कार्यका सम्बन्धमा सरकारले अगाडि सार्ने भावी नीति तथा योजनाको लागि समेत यस्ता अन्तरक्रिया कार्यक्रमलाई थप विस्तार गर्नु पर्ने आवश्यक देखिन्छ ।