वि.सं:
नेपाल संवत: ११४५ चौलागा नवमी - २४
मुद्रण विभाग मुद्रण सेवालाई विश्वासनीय भरपर्दो, गुणस्तरीय आत्मनिर्भर र सुरक्षित तुल्याई सबै प्रकारका सुरक्षण मुद्रणका कार्यलाई स्वदेशमै सम्पादन गर्न सक्ने सक्षम र साधन सम्पन्न सुरक्षण मुद्रणालयको रुपमा स्थापित गर्ने भविष्यपरक सोच लिएर अघिबढिरहेको छ । यस विभागको आयोजनामा नवीनतम प्रविधि अनुसार मुद्रण व्यवसायको स्तरोन्नति गर्न मुद्रण उद्योग संघ, मुद्रण विभाग, र निजी छापाखानाहरु बीचमा के कस्तो कार्यगत साझेदारी अवलम्बन गर्न सकिन्छ भन्ने विषयक सरकारी तथा निजी छापाखाना बीचको अन्तक्रिया कार्यक्रम मिति २०७३।९।१६ गतेका दिन धरानमा सम्पन्न भएको छ ।
आ.व. २०७३।०७४ को वार्षिक कार्यक्रम अनुसार प्रस्ताव गरिएको प्रथम चरणको अन्तक्रिया कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारीज्यू, नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय अध्यक्षज्यू, पत्रकार महासंघ सुनसरीका जिल्ला अध्यक्षज्यू, नेपाल मुद्रण उद्योग महासंघ सुनसरीका जिल्ला अध्यक्षज्यू तथा स्थानिय स्तरका छापाखाना संचालकज्यूहरु लगायत विभागका पदाधिकारीज्यूहरुको सक्रिय सहभागिता रहेको थियो ।
उक्त अन्तक्रिया कार्यक्रम मुद्रण विभागका महानिर्देशकज्यूको नेतृत्वमा सरकारी कार्यालयका पदाधिकारीहरु लगायत निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागीतामा कसरी निजी क्षेत्रलाई समेटेर विभागको भावी योजनाहरुलाई कार्यान्वयन गर्दै अगाडि बढ्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर भएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी श्री लोकनाथ पौडेलज्यूले प्रविधिमा आएको विकासको कारणले छपाई उद्योग सकंटमा परेको देखिएता पनि मानव सभ्यता रहेसम्म मुद्रण व्यवसाय अनिवार्य रहनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । उक्त कार्यक्रमका सभापति विभागका महानिर्देशक श्री शंकर अर्यालज्यूले यस्ता अन्तक्रिया कार्यक्रमले मुद्रण सेवा र कार्यमा थप गुणात्मकता कायम गर्न मद्दत पुग्ने कुरा व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा त्यस क्षेत्रका मुद्रण सेवा र कार्यमा संलग्न करिव १२ वटा संस्थाहरुको सहभागिता थियो । नेपाल मुद्रण उद्योग महासंघका केन्द्रिय अध्यक्ष, नेपाल मुद्रण उद्योग महासंघ, नेपाल पत्रकार महासघंका सुनसरी जिल्ला अध्यक्षज्यूहरु र मुद्रण व्यवसायीहरुबाट समग्रमा छापाखानाको विकास नभई देश विकास सम्भव नहुने र प्रेस जगतलाई सरकारको अभिन्न अंगको रुपमा स्थापित गरि मुद्रण क्षेत्रलाई सरकारी प्राथमिकतामा राख्नु पर्ने विचार व्यक्त गर्नु भयो । निजी छापाखाना संचालकज्यूहरुले मुद्रण कार्यको लागि विदेश जाने मुद्रा रोक्न सरकारका प्रतिनिधी मुद्रण विभाग मार्फत अनुरोध गर्दै छपाई भईसकेका सामाग्री देश भित्र्याउन दिन नहुने र सुरक्षण मुद्रण सम्बन्धी कार्य सरकारले नै गरि अन्य सबै छपाई सम्बन्धी कार्य निजी क्षेत्रलाई दिनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । मुद्रण सेवा र कार्यका सम्बन्धमा सरकारले अगाडि सार्ने भावी नीति तथा योजनाको लागि समेत यस्ता अन्र्तक्रिया कार्यक्रमलाई थप विस्तार गर्नु पर्ने आवश्यक देखिन्छ ।
मिति २०७३।९।१६ गते धरानमा सम्पन्न सरकारी तथा निजी छापाखाना बीचको अन्र्तक्रिया कार्यक्रमको झलक